Skin_Hospital_Dhn

रुसी सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु

गण्डकीः रुसी सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ । युक्रेनविरुद्धको लडाइँमा बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका ३६ वर्षीय जितबहादुर विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए ।

गत माघ २० गते निधन भए पनि परिवारजनलाई हिजो (बुधबार) मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विक पछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए ।

‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’, उनले भने, ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालय लगायत निकायमा बुझ्दैछौँ ।’

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत घरमा मृत्युको खबर आएको बताए ।

‘रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ’, वडाध्यक्ष घर्तीले भने, ‘उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।’

विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए । वैदेशिक रोजगारीका लागि केही वर्षअघि बिक साउदी र कतारमा पनि पुगेका थिए । विकका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

सम्बन्धित
Loading...