
काठमाडौं: साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ । समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ ।
यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ र दोस्रो खेलमा इराकलाई ५-० ले पराजित गरेको थियो ।


उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो । नेपाल समूह विजेता बन्नका लागि खेलमा जित वा बराबरी आवश्यक छ ।
नेपाली राष्ट्रिय टिमका लागि प्यालेस्टाइन नयाँ प्रतिद्वन्द्वी हो । नेपालले प्यालेस्टाइनको सामना गर्दा अन्तर्राष्ट्रिय फुटबलमा महिला टिमको यो ८७ औं खेल हुनेछ । नेपालसामु सातौं पल्ट लिग चरणका सबै खेल जित्ने अवसर हुनेछ । यसअघि नेपालले छ प्रतियोगितामा लिग चरणका सबै तीन खेल जितेको छ ।
यो खेल नेपालसामु लगातार तीन खेल जित्ने अवसर पनि हो । नेपालले अहिलेसम्म लगातार सबैभन्दा राम्रो प्रदर्शन सात खेलको जित हो । नेपालले सन् २०१३–२०१४ मा यस्तो उपलब्धी हात पारेको थियो । नेपाल पछिल्ला तीन खेलमा अपराजित रहेको छ । चीनको वेनचाउमा भएको बंगलादेशविरुद्धको खेलसँगै यस वाफ वुमेन्स च्याम्पिनयसिपमा अपराजित छ ।
