
काठमाडौँ: काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् ।

काभ्रेको चौरीदेउराली घर भएकी २२ वर्षीय सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौँको केएमसी अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।
अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाई छ । शिशु चोरी गरेकी उनलाई गएराति ११ बजे काठमाडौँको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो ।
