
काठमाडौं: वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रतिष्ठानकी कुलपति निशा शर्मासहित फिल्म अभिनेता, संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

भजन शिरोमणीको रुपमा सुप्रसिद्ध आचार्यको निधन सोमबार अपरान्ह ४ बजे मेडिसिटी अस्पताल लैजाने क्रममा भएको थियो । शरिरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पताल लगिएको थियो ।
८२ वर्षिय आचार्य केही समयदेखि बिरामी थिए । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने नेपाल संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।
