Skin_Hospital_Dhn

भजन शिरोमणि आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ: वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनलाई छोरा स्वरुपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिए।

भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमवार ८२ वर्षको उमेरमा निधन भएको थियो। सोमवार अपराह्न ४ बजेतिर अचानक अक्सिजन कम भएपछि उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।

विसं १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ। दाहसंस्कारका लागि आर्यघाट लानुअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए। उनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायत पुगेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मासहित गीत सङ्गीत तथा चलचित्र क्षेत्रका कलाकार एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...