Skin_Hospital_Dhn

मकैको बीउ जिल्ला बाहिर निर्यात हुन थाल्यो, अहिलेसम्म एक सय नौ टन निर्यात

दिपायल ।
पछिल्लो समय डोटीबाट मकैको बीउ जिल्ला बाहिर निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात भएको हो।

जोरायाल गाउँपालिका र बडीकेदार गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत ५० हेक्टर जमिनमा मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ उत्पादन भई रु एक करोड एक लाख बराबरको निर्यात भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख पनेरुले बताए ।

जोरायल गाउँपालिका–४ की नर्मी देवी थापामगरले १० रोपनीमा अरुण–२ र रामपुर कम्पोजिटजातको १ Þ३ मेट्रिक टन मकैको बीउ उत्पादन गरी करिब रु ९५ हजार दुई सय ५६ बराबरको आम्दानी भएको बताएका छन् । उनले भने, “कृषि ज्ञान केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ ।” किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन् । आउँदा वर्षमा बीज वृद्धि कार्यक्रममा थप विस्तार गर्ने योजनामा रहेको थापामगरले बताईन् ।

जोरारायल गाउँपालिका–४ स्थित श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत पालिकामा नौ सय किसानले उत्पादन गरेको ७० टन मकैको बीउ खरिद गरी रु ६२ लाख बराबरको बीउ जिल्ला बाहिर निकासी भएको सहकारीका व्यवस्थापक ठक्कर कठायतले बताए ।

जोरायल गाउँपालिका–१ गैरा स्थित जैविक विविधता संरक्षण सहकारी संस्थाले पनि स्थानीय दुई सय ८० किसानले उत्पादन गरेको उन्नत जातको ३९ टन मकैको बीउ रु ४५ लाखमा जिल्ला बाहिर निकासी भएको संस्थाका व्यवस्थापक गणेश बिष्टले बताए । उनले भने जिल्लामा उत्पादन भएको मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट उन्नत जातको मकैको बीउ जिल्लाका विभिन्न सहकारीमार्फत धनगढी, चितवन, काठमाडौँलगायत स्थानमा जाने गरेको बताए । किसानले उत्पादन गरेको मकैको बीउ स्थानीय तहमा रहेका कृषि शाखा र विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रमा पनि जाने गरेको विष्टले बताए ।

मकै उत्पादनको पकेट क्षेत्रकारूपमा बडी केदार गाउँपालिका र जोरायल गाउँपालिकालाई राखिएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

सम्बन्धित
Loading...