Skin_Hospital_Dhn

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज फेरी सुनुवाइ हुँदै

काठमाण्डौं ।
गृहमन्त्री लामिछानेविरुद्धको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज फेरी सुनुवाइ हुँदैछ । यो मुद्दामा सम्भवतः आज फैसला आउन सक्छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार सुनुवाइ नसकिएपछि आजका लागि तोकिएको थियो ।

यसअघि अदाललते दिएको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन भनिएको थियो । अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।

अमेरिकी नागरिकता लिएकै बखत पर्यटक भिसामा नेपाल आएका लामिछानेले सञ्चारकर्म गरिरहँदा विवाद भएपछि उनले अमेरिकी नागरिकता त्यागेका थिए । तर, त्यसपछि नेपाली नागरिकता पुनः कायम गराउन कुनै कानुनी प्रक्रिया नचालेको र अमेरिकी पासपोर्ट कायम रहेकै समयमा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको आरोप लामिछानेमाथि छ ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने मागदाबी रिटमा गरिएको छ । गृहमन्त्री लामिछानेले भने अमेरिकी नागरिकता त्यागेसँगै आफ्नो नेपाली नागरिकता स्वतः कायम हुने दाबी गरेका छन् ।

सुनुवाइ टुंगिएपछि सर्वोच्च अदालतले यो मुद्दामा लिने फैसला नजिरका रूपमा स्थापित हुने छ । यदि सर्वोच्चले लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता कायम हुने भनी व्याख्या गरेर फैसला आउने सम्भावना पनि छ । तर नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गरे उनको सांसद र मन्त्री पद खारेज हुन सक्छ ।

सम्बन्धित
Loading...