
धनगढी ।
धनगढीमा लागुऔषधसहित एक युवकलाइ पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका– २ सन्तोशी टोल बस्ने भीमबहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले हिजो (बिहीबार) राति बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।


कुँवरको साथबाट सेतो सुगर जस्तो देखिने एक ग्राम पाँच सय मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट बसपार्ककै टोलीका प्रहरी सहायक निरीक्षक चन्द नेतृत्वकै टोलीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय सुशिल कुँवरलाई पनि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।
सुशिल कुँवरलाई जिल्ला अदालत कैलालीले १२ माघ २०७७ मा लागुऔषध खैरो हिरोइनको मुद्दामा ६ दिन जेल र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उनलाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
