
धनगढी । कैलालीको घोडाघोडीमा १० औं लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।
लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो । माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।


दुई दिनसम्म आयोजना हुने उत्सवमा संरक्षणसम्बन्धी प्रवचन, लाटोकोसेरोकोबारेमा जानकारीमूलक प्रदर्शनी, साँस्कृतिक प्रस्तुति, पौराणिक खेलकुद प्रस्तुति, घोडाघोडी चरा आरक्षमा चरा अवलोकन लगायतका कार्यक्रम हुने जनाइएको छ ।
यस्तै, उत्सवको दोस्रो दिन संरक्षणमा योगदान पु¥याउने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गर्ने जनाइएको छ । यसवर्ष पुरस्कारका लागि जाजरकोटको संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाण्डौं–४ गोकर्णेश्वरका अनुसन्धानकर्मी हेमबहादुर कट्वाल, कान्तिपुर दैनिकमा कार्यरत चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे छनोटमा परेका छन् । चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजकले जनाएको छ ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइएको अभिलेख छ । वर्षमा दुई हजार जति लाटोकोसेरोको तस्करी हुनेगरेका कारण यिनको संंरक्षणमा जोड दिनका लागि सन् २०१२ बाट नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागेको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । उत्सवमा करिब २०० देखि ५०० सम्म पाहुना आउने अनुमान गरिएको छ ।
