बिश्वकपका खेलहरु सहजै नेपाली मोबाइल एपमा हेर्न सकिने

‘पाइरेटेड’ वेबसाइट तथा एपमाथि प्रतिबन्ध

अन्ततः मिडिया हबले मोबाइलमा समेत फिफा विश्वकप फुटबल हेर्न सकिने व्यवस्था मिलाउने भएको छ ।

विश्वकप फुटबल हेर्न सकिने ‘पाइरेटेड’ वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका लागि त्यसको प्रसारण अधिकार लिएको कम्पनीले यस्तो व्यवस्था मिलाउन लागेको हो ।

कम्पनीका सञ्चालक सोम धितालले मोबाइल तथा कम्प्युटरमा समेत फुटबल विश्वकपको लाइभ हेर्न पाउनु पर्ने दर्शकको माग जायज रहेको भन्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको बताए । “हाम्रो पहिले देखिकै योजना भए पनि अदालतमा मुद्दा परेपछिको अन्यौलताले आवश्यक तयारी गर्न पाएनौ” उनले भने, “तर अब सोमबारदेखि मङ्गलबारसम्ममा यसको प्राविधिक तयारी पूरा हुन्छ ।”

यद्यपि मोबाइल एपमा विश्वकप फुटबल हेर्न समेत निश्चित शुल्क तिर्नुपर्ने धितालले बताए । यद्यपि कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेल सम्पन्न भएर दोस्रो चरणका खेल सुरु भइसकेका छन् । यस्तोमा ग्राहकले ५०० रुपैयाँ नै तिर्नुपर्ने हुन्छ अथवा केही छुट दिइनेछ भन्ने कुरा चाहिँ स्पष्ट भइसकेको छैन ।

धितालका अनुसार दर्शकले समूह चरणको खेल सम्पन्न भइसकेपछिका खेलहरू सहजै नेपाली मोबाइल एपमा हेर्न सक्नेछन् ।

Loading...