
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज पुष्प वर्षासहित सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ ।
बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिले महाशिवरात्रिको अवसरमा हेलिकप्टरमार्फत पुष्प वर्षा गरिने बताएको छ ।

बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले पुष्प वर्षासहित दीप प्रज्वलनको तयारी पूरा भएको जनाएको छ ।

अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिक स्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको बताए ।
बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड दीप प्रज्वलन गरिने जोशीले बताए । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिसकेको छ ।
पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्विन्टलटल फूलका लागि दुई लाखसहित जम्मा १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभन्डारासमेत चलाउने र उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिने बताइएको छ ।
