
काठमाडौं: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छन्।
११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन्।


फागुन २६ गते शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ। मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो। सोही निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गरेकी हुन्।
सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ। कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन्।
