
आफुलाइ प्रहरी बताउदै ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्रेको हो।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका मुद्दा मिलाइदिने भनी ठगी गर्दै हिँडेका गुरुङलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले यही माघ १० गते पोखराबाट पक्राउ गरेको हो।

बेसीशहरमा डेरा गरी बस्ने गुरुङ विभिन्न महिलाहरूसँग रु ७ लाख १७ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने आश्वासन दिएर ठगी गरेका थिए। गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको थियो।
गुरुङलाई जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
