टिकापुरका निर्दोष थारुहरुलाई रिहाई गर्नुस्, हामी सरकारमा जान्छौं : रञ्जिता श्रेष्ठ (चौधरी)
बुटवल ।
नाउपाकी रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीका माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छिन् । साथै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत समेत नदिने अडान उनले राखीन् ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहा नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताईन् ।
आज (शनिबार) बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताईन् । आफ्नो पार्टीको माग र मुद्धा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रष्टिकरण थियो ।
उनले भनिन्, ‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्धा सरकारले सम्बोधन गर्दैन । तवसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं । सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाँही समर्थन गरेका छौं। र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ । टिकापुरका राजबन्दीहरुलाई रिहाई गर्ने सरकारले भनिरहेको छ । र, हामीले पनि यही कुरामा अडान लिएका छौं । टिकापुरका निर्दोष थारुहरुलाई रिहाई गर्नुस्, हामी सरकारमा जान्छौं भनिरहेका छौं ।’
