Skin_Hospital_Dhn

आत्मदाह प्रयास घटनामा गम्भीर घाइते भएकी सापकोटाको मृत्यु

पोखरा ।
आत्मदाह प्रयास घटनामा गम्भीर घाइते भएकी ४० वर्षीया संगीता सापकोटाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १३ काहुँखोलामा हिजो (आइतबार) आगोले जलेर गम्भीर घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

सापकोटाकै घरमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षेत्रीलाई बचाउनेक्रममा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।

आत्मदाहको प्रयास गरेका क्षेत्रीको अवस्था भने सामान्य रहेको र उपचार जारी रहेको डा. खत्रीले बताए । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म नखुलेको र अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...