विश्वासको मतका लागि सर्वोच्चको निर्णय कुर्ने पक्षमा सुदूरका मुख्यमन्त्री रावल
धनगढी ।
विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सर्वोच्चको निर्णय कुर्ने पक्षमा रहेको देखिएका छन् ।
सर्वोच्च अदालतमा विचाराधिन रहेको टीकापुर घटनाको फैसला पछिमात्र प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने देखिएको हो ।
२०७२ साल भदौ ७ मा भएको अधिकार आन्दोलनमा ८ प्रहरी सहित एक नाबालकको मृत्यु घटनाको मुद्दाको भोली पेशी रहेको छ । थारू नेता लक्ष्मण थारूले भोली टीकापुर घटनाको मुद्दाको सर्वोच्चमा पेशी रहेको बताए ।
सर्वोच्चले भोलीनै सो मुद्दामा फैसला गरेमा सोही अनुसार नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनमा साथ दिने वा नदिने भनेर निर्णय लिने पक्षमा छ ।
उन्मुक्तिले थारू नेता रेशम चौधरीसहित टिकापुर राजवन्दी रिहा नभएसम्म प्रदेश सरकार गठनमा समर्थन नगर्ने प्रतिक्रिया दिँदै आएको छ ।
उन्मुक्ति फकाउन मुख्यमन्त्री रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उन्मुक्ति नेता रेशम लगायतसंग भेटघाट गरेर फर्केका थिए । फर्केको चार दिन भईसक्दा समेत उनले विश्वासको मत लिन सुरसार गरेका छैनन् ।