
आज (सोमबार) सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ४१.०१ अंकले घटेर दुई हजार एक सय २७.५२ विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स ७.३३, फ्लोट इन्डेक्स २.८६ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५९ अंकले घटेको छ ।

यस दिन दुई सय ५६ कम्पनीका ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ३० करोड २२ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन उपसमूह ३.६१ प्रतिशतले घट्दा फाइनान्स ३.४२ प्रतिशत, हाइड्रोपावर २.८९ प्रतिशत र निर्जीवन बिमा २.८५ प्रतिशतले घटेको छ । बाँकी उपसमूहको सूचकमा पनि एक प्रतिशतभन्दा धेरैले गिरावट आएको छ।
बजार उच्च अंकले घटे पनि आज दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
