
धनगढी ।
बझाङका तीन वटा स्थानमा गरेको निःशुल्क आँखा शिविरमा १ हजार ६ सय ३० जनाले सेवा लिएका छन्।
गेटा आँखा अस्पतालले माघको ७ गते देखि १६ गतेसम्म बझाङका प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, जिल्ला अस्पताल चैनपुर र भैरव मावि झोतामा गरी ३ स्थानमा आँखा शिविर सञ्चालन गरेको थियो ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुइत फाउण्डेशनको सहयोगमा शिविरको आयोजना गरिएको हो।

तीन वटै शिविरमा ४ सय ४५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । त्यमसा पनि सबैभन्दा बढी ४ सय ४३ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो।
२ जनाको अन्य शल्यक्रिया गरिएको र शिविरमा ११ सय ८५ जना आँखाका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ।
अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङ्गको नेतृत्वमा सञ्चालित उक्त शिविरहरूमा १५ जनाको प्राविधिक टोलीले सेवा दिएका थिए।
गत वर्ष गेटा आँखा अस्पताल अन्तर्गतका शाखाहरू तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएकोमा २४ हजार १४१ जनाको शल्यक्रिया गरिएको थियो । अन्नपुर्णबाट साभार
