
काठमाडौँ ।
नाउपाका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज (बिहीबार) दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाँदैछ ।


कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो। ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।
फैसला भएको एक दशकसम्म पनि आरोपित फरार रहेका थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेका थिए ।
