सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिए
काठमाडौं ।
नेपालले दुई सातापछि आइसिसी विश्वकप लिग—२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ।
त्यसको लागि बलात्कार आरोप लागेका सन्दीपले बिहीबारबाट टिमको प्रशिक्षणमा जोडिएको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले जानकारी दिएका छन् ।
‘सन्दीपआजदेखि होटलमा जोडिएका छन् । उनको आज होटल इन छ । आज दिउँसो सायद सानो समूहको टियुमा प्रशिक्षण हुँदा सन्दीप त्यहाँ गएर अभ्यास गरेका थिएँ।’, चौधरीले भने । आज भने सिनियर टोलीको क्याम्प विश्राम थियो ।
सन्दीपले बुधबार नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँग भेट गरेका थिए । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । मोन्टी देशाई शनिबार नेपाल आएपछि आइतबार देखि २८ सदस्य खेलाडीले प्रशिक्षण सुरु गरेका थिए ।
‘क्यान र हामी खेलाउन सकरात्मक छौं । तर केहि प्रोटोकल पनि छन् । टिममा राख्ने नराख्ने । क्यानले आफ्नो काम गर्नुभयो । मेरो काम उसलाई क्याम्पमा राख्ने हो । त्यसपछि फिजियो, ट्रेनर र प्रशिक्षक छन् । वहाँ तीन जनाले के छ उसको हेर्नुहुन्छ । तीन मध्य दुई जनाले पनि खेल्न योग्य छन् भने हामी अन्तिम टोलीमा राख्ने छौं’, चौधरीले बुधबार भनेका थिए ।
उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको थियो । उक्त निवेदनको पहिलो सुनाई शुक्रबार हुँदैछ । भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिकालाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिकाले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।
असोज २० मा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको छ । तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको छैन । नेपालले पहिलो खेल फागुन २ मा नामिबियासँग खेल्नेछ ।