
महेन्द्रनगरः कञ्चनपुरका एक युवकले सडकमा भेटिएको पाँच तोला सुनका गरगहनासहितको झोला (पर्स) सम्बन्धित व्यक्तिलाई बुझाएका छन्।
भीमदत्त नगरपालिका–७ का भोजराज भट्टले बिहीबार आफ्नो घर अगाडिको सडकमा सुनका गरगहना, आइप्याड, नगद रुपैयाँ तथा कागजातसहित एउटा झोला (पर्स) फेला पारेका थिए ।


उक्त पर्समा अन्दाजी पाँच तोलाभन्दा बढी सुनका गरगहनालगायतका सामग्री रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीय पुनम जोशीले आफ्नो गरगहनासहित पर्स हराएको भनेर वडा प्रहरी कार्यालय महेद्रनगरमा निवेदन दिएकी थिइन्।
पर्स पाउना साथ भट्टले जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए। त्यसपछि प्रहरीले निवेदक जोशीलाई बोलाएर हराएको पर्स पाउने युवक भट्ट मार्फत नै बुझाइएको जनाइएको छ।
भट्टले फेसबुकमा लेखेका छन्, ‘५/६ तोला सुनको विभिन्न गरगहनाहरु, एप्पल कम्पनीको आइप्याड केही नगद मुद्रा र विभिन्न अत्यावश्यक सामग्रीहरूसहितको पर्स भेट्टिएको थियो र तत्काल मैले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सम्पर्क गरि बुझाएको थिएँ र सम्बन्धित व्यक्ति खोजी गर्दै जाँदा सामानधनीज्यूलाई आफ्नै हातले हस्तान्तरण गर्न पाउँदा निकै खुसी तुल्याएको छ।’
