Skin_Hospital_Dhn

नाउपाका सांसद अरुण कुमार चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी

धनगढी ।
हिजो (बिहीबार) बाँकेको कोहलपुरबाट पक्राउ परेका नाउपाका सांसद अरुण कुमार चौधरीलाई प्रहरीले आज (शुक्रबार) अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका सांसद चौधरीलाई प्रहरीले हिजो (बिहीबार) पक्राउ गरेको थियो ।

उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं लगी काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्‍याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीकी हिरासतमा रहे।

जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए । उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

यता नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् । थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताईएको छ।

सम्बन्धित
Loading...