
रेसुङ्गा, २१ माघ । गुल्मीमा श्रीमतीलाई जिस्काएको भन्दै दम्पती मिलेर जिस्काउने भारतीय नागरिकको हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा अभियुक्त श्रीमान्ले श्रीमतीलाई जिस्काएकोले दुुवै मिलेर हत्या गरेको खुलेको हो ।

गत माघ १२ गते मादक पदार्थ सेवन गरेको नसाको तालमा भारतीय शेख आलिनामले गुल्मीको सत्यवती गाउँपालिका९१ का छबिलाल अधिकारीकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएका थिए । त्यसपछि छविलाल र बिष्णुले ४४ वर्षीया आलिनामलाई हथौडाले हानेर हत्या गरेका हुन् ।

उनीहरुले भारतीय नागरिक आलिनामको हत्या गरेर नदीमा फालेका थिए । दुई अभियुक्तलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले माघ १९ गते शव फेला परेको र अनुसन्धानको क्रममा छविलाल र बिष्णुले मिलेर हत्या गरेको खुलेको बताउनुभयो । उहाँका अनुसार हत्याको कारण बयानको क्रममा श्रीमती जिस्काएपछि हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा ७ जनाको टोली खटि घटनाको अनुसन्धान गरेको थियो । प्रहरीलाई यो घटनामा छोटो समयमै सफलता प्राप्त भएको छ । फेला परेको शवलाई हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकोले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा शंकास्पद देखिएपछि छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले आफै भारतीय नागरिकको हत्या गरेका थिए ।
