फाइभजीको आन्तरिक परीक्षण टेलिकमले भोलिदेखि थाल्ने
काठमाडौं ।
फाइभजी सेवाको आन्तरिक परीक्षण नेपाल टेलिकमले भोलिदेखि थाल्ने भएको छ । टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी कम्पनीले मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजीको आन्तरिक परीक्षण गर्न लागेको हो ।
कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाका अनुसार बबरमहल र सुन्धारामा आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण सम्पन्न भइसकेको छ । अब कम्पनीले आन्तरिक रुपमा फाइभजी परीक्षण गर्न लागेको कम्पनीका सहप्रवक्ता लोहियाले बताए ।
यसअघि नै परीक्षण थाल्ने तयारी भएपनि फाइभजी सेट सीमित रुपमा उपलब्ध भएका कारण केही ढिला भएको उनले जनाए ।
परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजन सुरु गर्ने कम्पनीको योजना छ ।