
काठमाडौं ।
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।

आज बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेसंगै उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको हो ।

कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने एमालेले जनाएको छ ।
राष्ट्रियसभामा हाल ५८ सांसद छन् । अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनले उपाध्यक्ष जित्न सक्छन् । उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ ।
