
महेन्द्रनगर ।
कञ्चनपुर र कैलालीका चार नदीमा जनताको तटबन्ध कार्यक्रमअन्तर्गत तटबन्ध निर्माण भइरहेको छ । यहाँको महाकाली, दोदा, मोहना र कैलालीको खुटिया नदीमा तटबन्ध निर्माणको काम कञ्चनपुरको महेन्द्रनगरमा स्थापना गरिएको जनताको तटबन्ध फिल्ड ७ नम्बर कार्यालयले गरिरहेको हो ।
उक्त चार वटै नदीको विभिन्न स्थानमा नदी कटान नियन्त्रण गर्ने उद्देश्यले गत भदौदेखि तटबन्ध निर्माण दु्रत गतिमा भइरहेको कार्यालयका प्रमुख श्रीप्रसाद साहले जानकारी दिए । उनका अनुसार दोधारा चादँनी नगरपालिकातर्फ महाकाली नदीमा तटबन्ध निर्माण भइरहेको छ । यहाँ करिब दुई किलोमिटर तटबन्ध निर्माणका लागि रु सात करोड ५६ लाखमा ठेक्का सम्झौता भएको थियो ।


सो तटबन्ध निर्माण गत असोजदेखि शङ्कर–जोशी जेभीले गरिरहेको र दुई वर्षभित्र गरिसक्ने तटबन्ध फिल्ड ७ नम्बर कार्यालयले जनाएको छ । त्यसैगरी यहाँको सबैभन्दा बढी कटान समस्या रहेको दोदा नदीको तटबन्ध पनि नियमित रूपमा हुँदै आएको छ । दोदा नदीको कटानले सबैभन्दा बढी लालझाडी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । गाउँपालिका वडा नं. २ र ५ मा एक किलोमिटर तटबन्ध निर्माणाधीन अवस्थामा छ । उक्त तटबन्ध निर्माणका लागि रु तीन करोड १२ लाखमा ठेक्का संझौता गरिएको थियो ।
केही समय बस्ती जोगाउन दोदा नदीको तटीय क्षेत्रमा जैविक तटबन्ध निर्माणमा जुटेका लालझाडी गाउँपालिका–२ का वासिन्दाले अहिले बगरमा मसला रोपेका छन् ।
स्थानीय रामदल रानाले चार बिघा जमिन दोदाले बगाएपछि आफ्नो परिवारलाई जीविका चलाउन समस्या भएको गुनासो गरे । ‘सानो बजेटले दोदाको तटबन्ध निर्माण सम्भव नै देखिँदैन’ उनले भने ‘केन्द्र सरकारको बजेट नपरेसम्म दोदाको तटबन्ध निर्माण असम्वभ जस्तै छ ।’
उक्त कार्यालयका अनुसार कृष्णपुर नगरपालिकाअन्तर्गत मोहना नदी र कैलालीको खुटिया, धनगढीको चटपकपुरलगायतका स्थानमा गत वर्षदेखि एशियाली विकास बैंकको कार्यक्रमअन्तर्गत तटबन्ध निर्माण भइरहेको छ ।
