Skin_Hospital_Dhn

जारी एलपीएलमा भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी र नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी

धनगढी ।
धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी र नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।

आज (सोमबार) भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतन धनगढीलाई ४ रनले पराजित गर्दै भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकीले विजयी सुरुवात गरेको हो । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भुवनेश्वरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो ।

भुवनेश्वरीको जितमा टिमका कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ३२ रन र बलिङमा ३ विकेट लिए । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको शारदा विद्या निकेतन २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो ।

शारदा विद्या निकेतनका लागि दीपक रोकायाले २६ र कृष्ण भट्टले २१ रन बनाए । ब्याटिङमा भुवनेश्वरीका खगेन्द्र ठगुन्नाले ३२ रनको पारी खेले । प्रकाश पाण्डेले २२ र लोकेश जोशीले १८ रन बनाए । बलिङ तर्फ शारदाका हृदय बिठारीले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच खगेन्द्र ठगुन्ना चुनिए ।

आजै भएको दोस्रो खेलमा क्रिष्टल एकेडेमी धनगढी नव बालबाटिका विद्या मन्दिर बौनियाले वेष्टनद्धारा ९० रनले पराजित भयो ।

पहिले ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पारेको थियो । १ सय ८९ रनको लक्ष्य पएको वेष्टन क्रिष्टल एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै बनायो । वेष्टनका लागि नीरज ऐरले २४ र आशिष् लुहारले १६ रन बनाए । बलिङ तर्फ बाल बाटिकाका वीर बहादुर घर्ती मगरले ३ र प्रकाश जैशीले २ विकट लिए ।

त्यस अघि पहिलो इनिङमा बाल बाटिकाका लागि नेपाली यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका प्रकाश जैशीले २६ बलमा ७ छक्का र ६ चौकासहित अविजित ७८ रनको विस्फोटक पारी खेले । आशिष् ओलीले ४३ र विराट सिंह भण्डारीले ३७ रन बनाए । बलिङ तर्फ वेष्टन क्रिष्टलका रोशन थापाले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रकाश जैसी चुनिए ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित
Loading...