काठमाडौं ।
बङ्गलादेशमा जारी साफ यु—२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । यु—२० महिला च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
ढाकामा आज भएको खेलमा नेपालले भारतलाई ३—१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे भने भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन्।
खेलको २१ औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएपनि खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल गर्यो।
खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १—१ को बराबरीमा पुर्याइन्। खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २—१ को अग्रता दिलाएबकी थिइन् । खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित पक्का गरीन् ।
प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन् । रासस