
धनगढी ।
धनगढीमा जारी राष्ट्रिय टी–२० क्रिकेट (एलपीएल) अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।
आजको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित गर्यो। सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९.३ ओभरमा ८ विकेट गुमाएर भेटायो। सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रन योगदान दिए । प्लेयर अफ द म्याच घोषित जोशीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै इमरान शेखले २८, प्रतिक श्रेष्ठले २० रन बनाए।


सैनिकका बलर रवीन्द्र कार्की र सागर चन्दले २र२ विकेट लिए।यस अघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १४० रन बनायो। उसको लागि विशाल ऐरले सर्वाधिक ६४ रन बनाए जुन क्रममा उनले ४१ बलमा ९ चौका प्रहार गरे। सन्दीप बिस्टले २९ तथा कप्तान अनुराग सिंहले २१ रन बनाए। सत्यवतीका बलर प्रतिक श्रेष्ठले २ तथा अभिषेक कोइराला र सोनु अन्सारीले १/१ विकेट लिए।
मंगलबारनै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित र्गयो। लिटल फ्लावरले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा गुराँस एकेडेमीले ११.४ ओभरमा ६९ रन बनाउँदा सबै विकेट गुमायो। लिटल फ्लावरका बलर अनुराग सिंह एक्लैले उनले २.४ ओभरमा ११ रन खर्चिदै ५ विकेट लिए । अनुराग प्लेयर अफ द म्याच घोषित भए। सुबोध तिवारीले २ तथा रोशन रावल र सार्थक बमले १/१ विकेट लिए।
गुराँस एकेडेमीका सचिन साउदले २६ तथा विशाल बिस्टले २२ रन बनाए। यस अघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५२ रन बनायो। लिटल फ्लावरको लागि नरेन भट्टले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा ५१ बलमा ८ चौका प्रहार गरे। वसन्त सिंह कार्कीले ३१ तथा कप्तान विपिन रावलले २७ रनको योगदान दिए। तेस्रो विकेटको लागि नरेन र वसन्तले ८३ रनको साझेदारी गरे। गुराँस एकेडेमीका बलर रभी बिस्टले २ विकेट लिए ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
