धनगढी ।
हिजो (बुधबार) प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो । जसका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँछन् । सुदुरपश्चिम संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन्।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र पुनः १ बजे बोलाईएको प्रदेश सभा बैठक स्थगित हुन पुगेको थियो।
गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र समयअवधि रहेको छ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदुरपचिक प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
नाउपाका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुदैँ आएको छ।
बन्दीको रिहाई, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाइ छ । नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन् ।
नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ।
