भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार भन्दा धेरै

काठमाडौं ।
सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तीमा १५ हजार भन्दा धेरै पुगेको अधिकारीहरूले जनाएका छन् ।

टर्कीको प्रकोप र आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार त्यहाँ मृत्यु हुनेको संख्या १२ हजार ३९१ पुगेको छ । सिरियामा कम्तीमा दुई हजार ९९२ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

सीएनएनका अनुसार खोज र उद्धारकार्य जारी छ । उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ । हजारौँ भत्किएका भवनहरू र चिसो तापक्रममा उनीहरूलाई उद्धारमा कठिनाइ भइरहेको छ ।

मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेप नजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ कि. मि. गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

सम्बन्धित
Loading...