
काठमाडौंः आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडामाथि शानदार जित निकालेको छ । आरोन जोन्स र एन्ड्रिज गौसको ऐतिहासिक साझेदारीमा क्यानडामाथि घरेलु मैदानमा १४ बल खेल्न बाँकी हुँदा अमेरिकाले ७ विकेटको शानदार जित निकालेको हो ।
टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानडाले दिएको १९५ रनको लक्ष्य १७.४ ओभरमा तीन विकेट गुमाएर १९७ रन बनाउँदै भेट्टाएको हो ।

अमेरिकाका लागि आरोन जोन्सले २२ बलमा ५० रन बनाउँदै विश्वकपमा अमेरिकाका लागि थोरै बलमा अर्धशतकको रेकर्ड बनाए। उनले अर्धशतकका लागि १ चौका र ६ छक्का प्रहार गरे । उनले नटआउट ४० बलमा १० छक्का र चार चौका प्रहार गर्दै सर्वाधि ९४ रन बनाए ।
अमेरिकाका अर्का ब्याट्सम्यान एन्ड्रिज गौसले ३९ बलमा अर्धशतक पूरा गरे । उनले ६ चौका र दुई छक्काको मदतमा ५३ रन बनाएका हुन् । उनी ४६ बल खेल्दै सात चौका र तीन छक्काको मद्दतमा ६५ रन बनाएर आउट भए । उनले आरोन जोन्ससँग ५८ बलमा १३१ रनको साभेदारी गरे ।

ओपनर स्टीवन टेलरलाई दोस्रो बलमा शून्यमै गुमाएको अमेरिकाको खराब सुरुवात गरेको थियो । दोस्रो विकेटको रुपमा अमेरिकाले मोनांक पटेललाई गुमाएको थियो । उनले १६ बलमा दुई चौकाको मद्दतमा १६ रन मात्र जोडेका थिए । आरोन र एन्ड्रिजको साझेदारीले अमेरिकाले ब्याटिङ लाइनलाई उकासेको थियो ।
अमेरिकाविरुद्ध खराब बलिङ गरेको क्यानडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एकएक विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको क्यानडाले अमेरिकालाई पाँच विकेटको क्षतिमा १९५ रनको चुनौती दिएको थियो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा अर्धशतक बनाएका थिए । उनले ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएर आउट भएका थिए ।
क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए । उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे । उनी ३१ बल खेल्दै ५१ रनमा आउट भएका थिए ।
क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरेका थिए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिएका थिए ।
