
धनगढीः डोटीको बुडरमा जिप दुर्घटना भएको छ।
दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप बुडरमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।


दुर्घटनामा परेर तीन वर्षीया रितिका सार्कीको मृत्यु भएको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज (बुधबार) बिहान बुडर नजिकै दुर्घटना भएको हो।
घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन्।
त्यस्तै, डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन्।
घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बिहान ५ बजे घाइतेहरूको उद्धार गरेर निसर्ग अस्पताल धनगढीमा पठाएको उनले बताए।
