Skin_Hospital_Dhn

बैतडीमा हुरीबतासले लिफ्ट खानेपानीको सोलार पाता उडायो, लाखौंको क्षति

बैतडीः हुरीबतासले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि ११९ परिवार खानेपानीबाट वञ्चित भएका छन्। हुरीबतासले सोलारमा क्षति गर्दा विद्यालय, अस्थायी प्रहरी पोस्ट र बर्थिङ सेन्टरमा समेत खानेपानी अवरुद्ध भएको छ।

शनिबार अपराह्न चलेको हावाहुरीले पाटन नगरपालिका–१, गेरुवापानीस्थित मुहानमा राखिएका ७५ वटा सोलार पातामध्ये ३० वटा पाता उडाएर काम नलाग्ने गरेर क्षति पु¥याएको छ। सोलार पातामा क्षति पुगेपछि बस्तीमा खानेपानीको हाहाकार भएको छ।

हावाहुरीले लिफ्ट खानेपानीमा करिब १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। गत असारमा एक करोड नौ लाख रुपैयाँको लागत सम्पन्न लिफ्ट खानेपानी योजनाको सोलार पाता हुरीले उडाएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए। हुरीले लिफ्ट खानेपानीका सोलार पातामा क्षति गरेपछि स्थानीय सरस्वती मावि बयलचौरा, कालिका आधारभूत विद्यालय सकार, ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुरमा पानी आपूर्ति बन्द भएको छ।

त्यसैगरी अस्थायी प्रहरी पोस्ट बयलचौरा, बर्थिङ सेन्टरमा खानेपानीको आपूर्ति बन्द भएको वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए। पानी आपूर्ति बन्द हुँदा गर्मी मौसममा गाउँमा पानीको हाहाकार मच्चिएको उपभोक्ता समितिका उपाध्यक्ष गणेश भट्टराईले बताए।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हुरीबतासले गरेको क्षतिबारे प्रहरी मुचुल्का उठाउन भनिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताए। उनले क्षतिको विवरणसहितको मुचुल्का आए मर्मतका लागि प्रदेश सरकारलाई सिफारिस गरेर पठाउने जानकारी दिए।

सम्बन्धित
Loading...