
धनगढी: बझाङबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ। बझाङको बित्थडचिर गाउँपालिका–६ की २१ वर्षीया बसन्तीदेवी धामीकोहेलिकोप्टरमार्फत् उद्धार गरिएको हो।

धामीलाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका विपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए। जिल्ला अस्पताल बझाङका अनुसार शनिबार राति १ बजेतिर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले बिहान ४ बजे शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन्। उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन्।

पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको र यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको तथा रक्तस्राव पनि भएपछि उपचारको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको उद्धार गरी सुर्खेत लगिएको जिल्ला अस्पताल बझाङका डा. ओव्जन रावलले बताए।
