Skin_Hospital_Dhn

धनगढीमा जेठ ३१ गते ‘खुल्ला ठाडी भाका’ प्रतियोगिता हुने

धनगढीः कैलालीको धनगढीमा ‘खुल्ला ठाडी भाका’ प्रतियोगिता कार्यक्रम हुने भएको छ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको सञ्चालनमा यहीँ जेठ ३१ प्रतियोगिता कार्यक्रम हुने भएको हो। आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी रिद्धिसिद्धि प्यालेसमा ‘खुल्ला ठाडी भाका’ प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने जानकारी गराएको हो।

ठाडी भाकाको प्रचारप्रसार गर्न र यसप्रतिको आकर्षण बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष गुणाकर पनेरुले बताए। राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय टिम पनि उक्त कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए।

‘ठाडी भाकाले यस क्षेत्रमा अलग्गै पहिचान बनाएको छ। धेरै कलाकारले ठाडी भाका गाउन सक्नु हुन्न। ठाडी भाका युनिक छ,’ उपाध्यक्ष पनेरुले भने, ‘कार्यक्रममा विभिन्न देउडा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।’ उनले सबैलाई कार्यक्रममा सहभागी भई यस क्षेत्रको ठाडी भाका संरक्षणमा टेवा पुगाउन आग्रह गरे।

राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका उप–महासचिव तेज बोहराले पछिल्लो समय ठाडी भाका ओझेलमा परेको बताए। ओझेलमा परेको ठाडी भाकाप्रति आकर्षण बढाउने नै प्रतियोगिता गर्नुको मुख्य उद्देश्य रहेको उनले बताए।

उनका अनुसार ठाडी भाका देउडा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई क्रमशः १० हजार, ७ हजार र ३ हजार पुरस्कार प्रदान गरिनेछ।

सम्बन्धित
Loading...