Skin_Hospital_Dhn

एलपीएल टी–२०ः लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी

धनगढी ।
धनगढीमा जारी यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता एलपीएल अन्तर्गत आज सम्पन्न दुई खेलमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।

आजको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगर लोटस आई स्कुल अत्तरियासंग ६ विकेटले पराजित भयो । भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०.३ ओभरमा ४ विकेट क्षतीमा भेटायो । लोटस आईको लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए । भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा विपिन धामीले १ विकेट लिए ।

 

टस जितेर ब्याटिङ गरेको भुवनेश्वरीले १२.५ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमायो । भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

लोटस आईका प्लेयर अफ द म्याच घोषित भएका बलर सन्तोष विजले एक्लैले ३.५ ओभरमा मात्र ८ रन खर्चिदै ५ विकेट लिए । वीरेन्द्र नाथ र हिक्मत महराले २/२ विकेट लिए।

 

दोस्रो खेलमा लिटल फ्लावर स्कुल नव बाल बाटिका स्कुलसंग ९ विकेटले पराजित भयो । लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४.४ ओभरमा १ विकेट गुमाएर भेटायो ।

नव बाल बाटिकाको ब्याटिङमा नर बहादुर सार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाए । दोस्रो विकेटको लागि नर र विराटले ८४ रनको साझेदारी गरे ।

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो। उसको लागि नरेन भट्टले सर्वाधिक ३० रन तथा विपिन रावलले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नव बाल बाटिकाका प्लेयर अफ द म्याच घोषित बलर वीर बहादुर घर्ती मगरले ४ ओभरमा १७ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । नर बहादुर सार्कीले २ तथा प्रकाश जैसी र गजेन्द्र बोहराले १/१ विकेट लिए ।

 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित
Loading...