
धनगढीः कैलालीका दुई छुट्टाछुट्टै ठाउँमा आगलागी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१२ डी गाउँमा र जानकी गाउँपालिका-५ पथरैयामा हिजो (सोमबार) आगलागी भएको हो ।

प्रहरीका अनुसार धनगढी-१२ ‘डी’ गाउँ बस्ने ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी ५,००,००० रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीमा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

यस्तै, जानकी-५ पथरैया बस्ने ३९ वर्षीय चक्र भुलको काठको कच्ची गोठमा बिजुलीको तार सट हुन गई आगलागी हुँदा गोठभित्र रहेका अन्नपात, काठ लगायतका सामानहरू गरी अन्दाजी ८३,००० रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
