धनगढी ।
प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) सुदूरपश्चिम आउदै छन् । भोली (सोमवार) देखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन् ।
उनको सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।
उनी सोमवार बिहान धनगढी पुग्ने छन । सुरक्षा स्रोतका अनुसार कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रम सकेर उनी सोमवार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छन्।
१२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन् । उनले सोमवार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जानकारी प्राप्त भएको छ ।
