
काठमाडौँ: भाइरल बालगायिका कल्पना बिष्टले गाएको दोहोरी गीत ‘मौरी रसैमा’लाई युट्युवमा रुचाइएको छ। कल्पनाको गीतले युट्युवको म्युजिकतर्फको ट्रेन्डिङको शीर्ष स्थान ओगटेको हो।
कल्पनासहित अर्जुन सापकोटाको स्वर रहेको गीतलाई हालसम्म १६ लाख ७० हजार पटक हेरिएको छ। एकसाताअघि सार्वजनिक गरिएको गीत विगत केहीदिनदेखिनै म्युजिकको ट्रेन्डिङ नम्बर वानमा छ।

रविन लामिछानेको शब्द रहेको गीतमा अर्जुनको नै संगीत रहेको छ। कृष्ण विक भान्जाले म्युजिक एरेन्ज गरेका हुन्। ‘मौरी रसैमा, यत्तिको खुवी त छैन कसैमा’ गीतमा कल्पनाले बैतडीमा गीत गाएर चर्चा पाएदेखि भविष्यको कुरालाई समेटिएको थियो।

काजिश श्रेष्ठको निर्देशनमा तयार भएको भिडिओमा कल्पना र अर्जुनसहितका कलाकारको अभिनय छ। अर्जुनकै निर्माणमा तयार भएको गीतको भिडिओलाई बुद्ध थापाले खिचेका छन्।
यसअघि कल्पनाले गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन २ मा प्रतिस्पर्धा जनाएकी थिइन्। बैतडीकी कल्पना सामाजिक सञ्जालमा आफ्नो जादुमयी स्वरका कारण चर्चित थिइन्। शालिन कल्पनाले गाएका गीतहरु भाइरल भएपछि युट्युवर पत्रकार भोजराज थापाको टिम बैतडी पुगेको थियो।
भोजराजले काठमाडौं ल्याएपछि कल्पनाले पहिलोपटक अर्जुनसँग सहकार्य गरेकी हुन्। अहिले थुप्रै गीत रेकर्डमा व्यस्त रहेकी कल्पना अब काठमाडौंमै बसेर अध्ययन गर्ने समेत बताइएको छ।
