Skin_Hospital_Dhn

दक्षिण अफ्रिकाविरुद्ध नेपालको खेल गर्व गर्न लायक छ : कप्तान रोहित

काठमाडौँ: आईसीसी टी-२० विश्वकपमा नेपाल मात्र १ रनले दक्षिण अफ्रिकासँग हारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको खेलबाट आफू सन्तुष्ट रहेको बताएका छन्।

खेलपछि उनले भने, ‘नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ। बलिङ र ब्याटिङमा नेपालले राम्रो गर्‍यो। अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ।’ नेपाली समर्थकको उपस्थितिको प्रशंसा गर्दै कप्तान पौडेलले जहाँ भए पनि घरेलु मैदानकै आभास हुने अनुभूति सुनाए।

उनले भने, ‘टाढाबाट आएर वर्षा पनि नभनी नेपाली टोलीको हौसला बढाउनुहुन्छ, त्यसका लागि नेपालका समर्थकलाई धेरै-धेरै धन्यवाद!’

शनिबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले हार्दा सुपर ८ मा पुग्ने सपना अधूरै रहेको हो। टी-२० आईमा नेपाल र दक्षिण अफ्रिका पहिलोपटक भेट भएका हुन्। नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग खेल्नेछ। समूह डीबाट नेपालसँगै श्रीलंका पनि बाहिरिएको छ।

चार खेलमा अपराजित दक्षिण अफ्रिका ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो। अब ४ अंकका साथ दोस्रो स्थानमा रहेको बंगलादेशको सुपर ८ मा पुग्ने सम्भावना बलियो छ। नेपालको हारले सुपर ८ मा पुग्न नेदरल्यान्ड्सको पनि अंक गणितीय सम्भावना कायम छ।

समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश तथा नेदरल्यान्ड्स र श्रीलंका खेल्ने तालिका छ। नेपालले बंगलादेशलाई पराजित गरे र नेदरल्यान्ड्सले श्रीलंकालाई हराएर नेट रनरेटमा अघि रहे डच टोली सुपर ८ मा पुग्नेछ। नेपालको हारले डच टोलीलाई फाइदा पुगेको छ।

सम्बन्धित
Loading...