Skin_Hospital_Dhn

प्रचन्डः मन्त्रिपरिषद्‌बाट निर्णय गरेसंगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

धनगढी ।
कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । आज (सोमबार) गेटा मेडिकल कलेजको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्‌बाट निर्णय गरेसंगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको बताएका हुन् ।

‘यसलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय हिजो नै क्याविनेट बैठक राखेर सैद्धान्तिक निर्णय भएको छ,’ उनले भने, ‘अब व्यवहारिक रुपमा यसलाई मेडिकल कलेज चलाउनेतिर पनि तीब्र गतिमा अगाडि जान्छ। विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडि बढिसकेको छ।’ उनले यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञ लगायतसंग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय भएको बताए ।

‘सबैभन्दा खुसीको कुरा के हो भने यो पटक मेडिकल कलेज मात्रै होइन । यसलाई हिजो मात्रै प्रदेशका सबै जसो जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, डाक्टर, विज्ञहरुसंग छलफल गर्दा वहाँहरुको माग यसलाई गेटा मेडिकल कलेजको रुपमा त चलाउनु नै छ । सँगसँगै देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा लैजानु पर्‍यो भन्ने थियो,’ उनले भने ‘यसलाई विश्वविद्यालय बनाउने खुसी र गर्वको कुरा हो । यो सुदूरपश्चिमको मात्रै होइन, यो देशकै निम्ति गर्वको कुरा हो।’

उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रमदेखि नै आफू यससँग प्रत्यक्ष रुपमा जोडिएको बताए । ‘पहिला मेडिकल कलेज स्थापना गर्ने क्रममा पनि म प्रत्यक्ष रुपमा जोडिएको थिएँ। यसको बेस बन्दै गर्दा पनि मैले यसको अनुगमन गरेको थिएँ,’ उनले भने, ‘यसपटक फेरि अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रिया त अब अगाडि बढ्यो नै । यसलाई अगाडि बढाउन स्वास्थ्यसंग सम्बन्धित दरबन्दीका काम छिट्टै पूरा गरिन्छ।’

प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रमका साथै प्रचण्डले महेन्द्रनगरमा सोमबारदेखि सुरू हुने महोत्सवको उद्‌घाटन पनि गर्नेछन् । त्यसलगत्तै पार्टी जिल्ला कमिटीले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनी उपस्थित हुने छन् । एकै दिनका यी चार कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आज नै काठमाडौं फर्किने कार्यतालिका रहेको छ।

सम्बन्धित
Loading...