Skin_Hospital_Dhn

जानकी गाउँपालिकाले ल्यायो ६८ करोड ५६ लाखको बजेट

धनगढी: कैलालीको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि ६८ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ।

बुधबार र बिहीबारसम्म चलेको गाउँपालिकाको १४औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेट कार्यक्रम ल्याएको हो। गाउँपालिका अध्यक्ष गणेश चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरी सुरु भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक लालमति देवी कठरियाले आगामी आव. ०८१/०८२ का लागि ६८ करोड ५६ लाख १८ हजारको बजेट कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

जसमध्ये चालू खर्चतर्फ ६१ दशमलव ४१ प्रतिशत अर्थात ४२ करोड १० लाख ६० हजार रहेको छ भने पुँजीगततर्फ ३८ दशमलव ५९ प्रतिशत अर्थात २६ करोड ४५ लाख ५७ हजार ९ सय विनियोजन गरिएको हो।

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गर्दै गाउँ अधिवेशन सम्पन्न भएको छ। यो बजेट चालू आव ०८०/०८१ को भन्दा बढी हो । गाउँपालिकाले चालू आव ०८०/०८१ मा ६१ करोडको बजेट ल्याएको थियो।

आगामी आवको लागि सार्वजनिक गरिएको बजेट कार्यक्रम यथार्थ आयको आधारमा आएकोले प्रभावकारी कार्यान्वयनमा हुने गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रतिक्रिया दिए। जानकी गाउँपालिका सुदूरपश्चिम प्रदेशका पालिकाहरू मध्ये सबैभन्दा पहिले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सम्बन्धित
Loading...