
धनगढी ।
भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली धनगढी उप—महानगरपालिका वडा नं. २ फनपार्कस्थित भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।


हिजो (सोमबार) राति अन्दाजी ०९ः०० बजेको समयमा त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जिल्लाको धनगढी उप—महानगरपालिका वडा नं. २ फन पार्कबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा भारत लखिमपुर खिरि कृष्णनगर ८ पलिया बस्ने २४ वर्षीय को अमन गुप्ताले चलाएको यु.पी. ३१ ए.बि.४६५८ नम्बरको मोटरसाइकल र बाजुरा जिल्ला बडिमालिका नगरपालिका ३ घर भएका हाल जिल्ला कैलाली धनगढी उप—महानगरपालिका २ तिलके ताल बस्ने २४ वर्षीय सुरज बोहराले चलाएको से.३ प. ५५११ नम्बरको मोटरसाइकलमा २०४ थान सुट र ५ थान साडी गरी अन्दाजी रु.१,४५,०००।— मूल्य बराबरको समान, चालक र मोटरसाइकलसहित पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार नजिक रोड कोछेउमा सु.प.प्र.०१०१० प ८१७ नं.को मोटरसाइकलमा पछाडि बाँधी राखेको ३ बोरा पिस रिङ पिस्टोन र ट्याक्टरका पार्टपुर्जा गरी अन्दाजी रु.६२,०००।— मूल्य बराबरको सामान बेवारिसे अवस्थामा सामान फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त भन्सार छली गरी ल्याइएको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
