
काठमाण्डौं ।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा हिजो (मङ्गलवार) एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन कसुरमा संलग्न रहेको अभियोगमा काठमाण्डौं सिनामंगलस्थित डिएचएन शुभ यात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका—५ का चिरन्जी गिरीलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।


कुवेतको रोयल रेस्टुरेन्टमा काम लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरूमा पठाइ दिने प्रलोभन देखाई प्रतिवादी डिम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी समतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानव बेचबिखन ब्युरो अनुसन्धान ब्युरोको पहलमा कुवेतस्थित नेपाली राजदूतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्धार गरिएको थियो ।
सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिसा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त ब्युरोबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौं महानगरपालिका—२६ पानी पोखरीबाट पक्राउ गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
