
काठमाण्डौं ।
लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते काठमाण्डौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुसीबाट र राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका—१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरुङ, नुवाकोट लिखु गाउँपालिका—४ घर भई काठमाण्डौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका—४ घर भई काठमाण्डौं तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमति पत्र र ५ हजार रुपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रुपैयाँ राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमति पत्रमा कञ्चनको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यसअघि लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ भई मुद्दा चलेका राजनले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमति पत्र उपलब्ध गराएको खुल्न आएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
उनीहरू उपर लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाएको बताइएको छ ।
