
धनगढी ।
उच्च अदालतले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिटमा अन्तरिम आदेश जारी गरेन ।
आज (बुधवार) भएको सुनुवाइ पछि उच्च अदालतले अन्तरिम आदेश जारी नहुने गरी आदेश जारी गरेको हो ।
न्यायधिस देशबहादुर सार्की र न्यायधिस गणेश ठाकुरको इजलासमा भएको बहस पछि सो आदेश जारी भएको थियो ।
कैलाली बार एशोसियसनको कक्षमा राखिएको श्रव्यदृष्य संवाद कक्षबाट चौधरीले बयान दिएका थिए ।


माघ २९ गते उच्च अदालतले थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेस गर्न र चौधरीलाई बयान दिन बुधवार उपस्थित गराउन भनिएको थियो ।
ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।
बयानपछि अदालतमा सञ्चारकर्मीसँग बोल्दै चौधरीले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरण शैलीमा बाटोमा समातियो ।’
