
काठमाण्डौं ।
प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं महानगरपालिका—१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका—२ घर भई काठमाण्डौं तार्केश्वर नगरपालिका—१० मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका—३ घर भई काठमाडौँ टोखा नगरपालिका—३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका—५ घर भई काठमाण्डौं तार्केश्वर नगरपालिका—१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेपलान्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाण्डौं महानगरपालिका—१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका—१ घर भई काठमाण्डौं गोङ्गबु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका—२ घर भई काठमाण्डौं महानगरपालिका—१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्का रहेका छन् ।

काठमाण्डौं महानगरपालिका—१६ माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घका यातायात व्यवसायीहरूले ट्राफिक कारबाहीको विषय लगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाण्डौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा.२ झ. १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गा मुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू उपर जिल्ला अदालत काठमाण्डौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
