Skin_Hospital_Dhn

लोत्से महलमा लुटपाट गर्ने कार्यमा संलग्न ४ जना पक्राउ

काठमाण्डौं ।
गोङ्गबु नयाँबसपार्कस्थित लोत्से महलमा सञ्चालित मोबाइल पसलहरूमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौं महानगरपालिका—२६ गोङ्गबु नयाँबसपार्कस्थित लोत्से महलमा सञ्चालित मोबाइल पसलहरूमा प्रवेश गरी मोबाइल, चार्जर, रिचार्ज कार्ड, इयरफोन लगायतका सामानहरू लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दैलेख भगवती गाउँपालिका—३ घर भई काठमाण्डौँ तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाण्डौं महानगरपालिका—२६ सामाखुसी बस्ने ३५ वर्षीय नवीन खड्गी, रुपन्देही खैरेनी नगरपालिका—५ घर भई काठमाडौँ महानगरपालिका—२६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका—४ घर भई काठमाण्डौं महानगरपालिका—१५ स्वयम्भू बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

काठमाण्डौं महानगरपालिका—२६ गोङ्गबु नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनुपर्ने, माईक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर सङ्गठनहरूले गरेको आन्दोलनको क्रममा सोही ठाउँस्थित लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेको काठमाण्डौं सुपर मार्केटमा तोडफोड गरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, इयरफोन लगायतका सामानहरू लुटपाट गरेको घटनाको थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगन्ज र जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

उनीहरूको साथबाट घडी, घडीको चार्जर, इयरफोन, मल्टिप्लग, मोबाइल २ थान, ४ हजार रुपैयाँ बराबरको एनटिसि र एनसिएलको रिचार्ज कार्ड लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाण्डौंबाट चार दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Loading...