नेपाल प्रहरी र प्रभु बैङ्कबिच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ ।
नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैङ्क लिमिटेडबिच ‘नेपाल प्रहरी—प्रभु बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवलदार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हल्दारका सन्ततिहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।

सो अवसरमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारी पत्र आदान प्रदानसमेत गरिएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामको लागि प्रभु बैङ्कलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरे । सिसिटिभी जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैङ्कसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए । पछिल्लो समयमा बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैङ्किङ क्षेत्रसँग सहकार्य गर्दै जानेमा उनले जोड दिए ।

उक्त अवसरमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित सङ्गठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैङ्कबिच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवलदार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रुपैयाँ प्रभु बैङ्क लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी—प्रभु बैङ्क छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

उक्त समझदारी पत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैङ्क लिमिटेडको तर्फबाट बैङ्कका मुख्य प्रबन्धक मञ्जु राज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबिच बिहीबार हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रभु बैङ्कका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Loading...